यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबार शुरु हुँदै

रुपन्देही  :यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबार शुरु हुँदैछ। असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ।

असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा तिथि लाग्ने भएकाले पहिलो श्राद्ध यही दिन गरिँदैछ।

सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्। औँसी अर्थात् पर्वमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ।

आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ। यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ।

भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ।

सोह्र श्राद्धमा पिता (बुबा) तर्फका तीन र माता (आमा) तर्फका तीन पुस्तालाई सम्झिइन्छ।

कुन तिथिको श्राद्ध कहिले ?

२ गते बुधबार– प्रतिपदा श्राद्ध

३ गते बिहीबार– द्वितीया श्राद्ध

४ गते शुक्रबार– तृतीया श्राद्ध

५ गते शनिबार– चतुर्थी श्राद्ध

६ गते आइतबार– पञ्चमी श्राद्ध

७ गते सोमबार– षष्ठी श्राद्ध

८ गते मंगलबार– सप्तमी श्राद्ध

९ गते बुधबार– अष्टमी श्राद्ध

१० गते बिहीबार– नवमी श्राद्ध

११ गते शुक्रबार– दशमी श्राद्ध

१२ गते शनिबार– एकादशी श्राद्ध

१३ गते आइतबार– द्वादशी श्राद्ध

१४ गते सोमबार– त्रयोदशी श्राद्ध

१५ गते मंगलबार– चतुर्दशी श्राद्ध

१६ गते बुधबार– औँसी श्राद्ध

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation