लिपुलेक हुँदै चीन–भारत व्यापारको तयारी, नेपालको दाबी क्षेत्रमै गतिविधि बढ्ने संकेत

काठमाडौं । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने तयारी भएको छ। भारतीय समाचार एजेन्सीका अनुसार भारतको विदेश मन्त्रालयले आवश्यक अनुमति दिइसकेको र व्यापार सञ्चालनका लागि तयारी अघि बढाइएको छ।
जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने व्यापार सत्रका लागि केन्द्र सरकारको निर्देशनअनुसार प्रक्रिया अगाडि बढिसकेको जनाइएको छ। लिपुलेक पास नेपालको पश्चिमी सीमामा पर्ने लिम्पियाधुरा क्षेत्रबाट करिब ५६ किलोमिटरभित्र पर्दछ।
स्थानीय रूपमा पुलाङ–गुञ्जी भनेर चिनिने यो क्षेत्र कालापानी क्षेत्र अन्तर्गत पर्ने तीन गाउँमध्ये एक हो। हाल भारतीय नियन्त्रणमा रहेको यस क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी गर्दै आएको छ।
यसअघि सन् २०१५ र २०२० मा पनि लिपुलेक सम्बन्धी भारत–चीनबीच भएका द्विपक्षीय सहमतिप्रति नेपालले औपचारिक आपत्ति जनाएको थियो। पछिल्लो तयारीसँगै पुनः उक्त क्षेत्रको संवेदनशीलता बढ्ने देखिएको छ।
भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि व्यापार पुनः सुरु गर्ने बाटो खुलेको हो। भारतीय विदेश सचिव विक्रम मिस्री ले उत्तराखण्डका मुख्य सचिवलाई हिमालय क्षेत्र हुँदै व्यापार पुनः सञ्चालनका लागि पत्र पठाएको समाचारमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation