बुटवल । मसाल महामन्त्री मोहनविक्रम सिंह ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई “अमेरिकी रणनीति” को प्रभावमा आएको दाबी गरेका छन्। नेकपा मसालले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले जनताले बाह्य शक्तिको भूमिका सही रूपमा नबुझ्दा अप्रत्याशित नतिजा आएको बताए।
उनका अनुसार वर्तमान राजनीतिक अवस्था देशका लागि गम्भीर मोड हो र निर्वाचनको परिणामलाई शुद्ध जनमत भन्न नमिल्ने दाबी गरे। उनले निर्वाचन प्रक्रिया देखि सरकार निर्माणसम्मका गतिविधिहरू योजनाबद्ध रूपमा अघि बढाइएको आरोप लगाए।
नेता सिंहले पछिल्ला आन्दोलनहरूलाई जनअसन्तोषको अभिव्यक्ति भने पनि त्यसलाई अन्य शक्तिहरूले “दुरुपयोग” गरेको आरोप लगाए। उनले युवाहरूको सहभागिता सकारात्मक भए पनि स्पष्ट राजनीतिक दिशाको अभावले आन्दोलन कमजोर बनेको बताए। साथै एमसीसी जस्ता परियोजनामार्फत विदेशी प्रभाव बढाउन खोजिएको भन्दै त्यसप्रति सजग रहन आग्रह गरे।
उनले हालसम्म सार्वजनिक नभएको छानबिन प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै हिंसात्मक घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने बताए। साथै नेपालका कम्युनिष्ट शक्तिहरू कमजोर बन्दै गएको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र पारदर्शितामा आधारित राजनीति आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा चित्रबहादुर केसी ले पनि निर्वाचनपछिको अवस्थाले देशको भविष्यप्रति चिन्ता बढाएको बताए। उनले विभिन्न सार्वजनिक संरचनामाथि आक्रमणका घटनाहरूलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै देशलाई अस्थिरताबाट जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे।
उनले प्रमुख दलहरूले लिएका नीतिगत निर्णयहरूको आलोचना गर्दै बाह्य प्रभावका कारण राजनीतिक असन्तुलन बढेको आरोप लगाए। साथै आगामी सरकारले देशलाई स्पष्ट दिशा दिन सक्नेमा शंका व्यक्त गर्दै आफ्नो पार्टीले राष्ट्रियता र जनहितका मुद्दामा निरन्तर आवाज उठाउने बताए।











