बुटवल , चैत ९ — प्रेस सेन्टर नेपालभित्र महत्वपूर्ण हलचल देखिएको छ। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष गुनाराम घिमिरेसहित सात जनाले एकैपटक पद तथा सदस्यता त्याग गरेका छन्।
घिमिरेका अनुसार उनीहरूले संस्थाको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय अध्यक्षसमक्ष राजीनामा बुझाएका हुन्। अब आफूहरू स्वतन्त्र रूपमा क्रियाशील हुने निर्णय गरिएको उनले बताएका छन्।
राजीनामा दिने अन्य व्यक्तिहरूमा पूर्व केन्द्रीय सदस्य भुवन कार्की, रुपन्देहीका पूर्व जिल्ला उपाध्यक्ष शारदा शाही, पूर्व जिल्ला सचिव मोहन न्यौपाने, सह–सचिव कल्पना घिमिरे तथा जिल्ला सदस्य प्रकाश पाण्डे र नेत्र रुचाल रहेका छन्।
उल्लेखनीय रूपमा, घिमिरेले यसअघि लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख अमीक शेरचनका प्रेस सल्लाहकारका रूपमा पनि काम गरिसकेका छन।










