काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चैत १३ गते प्रधानमन्त्री पदमा नियुक्त हुँदै शपथ लिने भएका छन्। शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने साइत तय गरिएको छ।
शपथ ग्रहण समारोहलाई विशेष र सांस्कृतिक रूपमा भव्य बनाइने तयारी गरिएको छ। कार्यक्रममा ७ वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकले स्वस्ति वाचन गर्नेछन्। साथै, १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
शपथ ग्रहणपछि बालेन शाहले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। सोही परिणामका आधारमा अब रास्वपाले एकल सरकार गठन गर्न लागेको हो।
नयाँ सरकार गठनसँगै देशमा राजनीतिक स्थिरता, सुशासन र विकासको अपेक्षा व्यापक रूपमा गरिएको छ।











