कार्की आयोगको प्रतिवेदनमा भ्रामक प्रचार गर्नेहरूमाथि औंल्याइयो संलग्नता

भदौ २३ र २४ का घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदनमा सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक सूचनाबारे गम्भीर टिप्पणी गरिएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले गलत सूचना फैलाउने केही व्यक्तिहरूको नामसमेत किटान गरेको जनाएको छ।
प्रतिवेदनअनुसार आन्दोलनका क्रममा विभिन्न झूटा समाचारहरू व्यापक रूपमा फैलाइएका थिए। चुच्चेपाटीस्थित भाटभटेनीमा दर्जनौँ शव फेला परेको, बानेश्वरस्थित संसद भवनभित्र प्रदर्शनकारी मृत अवस्थामा भेटिएको जस्ता अपुष्ट र अतिरञ्जित दाबीहरू सामाजिक सञ्जालमा भाइरल बनाइएका थिए।
यस्ता भ्रामक सामग्री फैलाउन केही कलाकार, सामाजिक सञ्जाल इन्फ्लुन्सर र व्यक्तिहरू सक्रिय रहेको आयोगले उल्लेख गरेको छ। साथै, तत्कालीन प्रधानमन्त्री विदेश भागेको भन्ने आधारहीन प्रचारदेखि नेताहरूमाथि आक्रमण भएको भन्दै प्रसारित गरिएका भिडियोहरू समेत असत्य रहेको प्रतिवेदनमा औंल्याइएको छ।
यसैगरी, नारायणहिटी दरबार सफा गरेर राजसंस्था पुनःस्थापना हुने हल्लादेखि लिएर हिल्टन होटलमा लगानीसम्बन्धी अपुष्ट समाचारहरू पनि सार्वजनिक गरिएका थिए। आयोगले यस्ता गलत सूचनाले जनमानसमा भ्रम सिर्जना गर्नुका साथै मुलुकको छवि र वैदेशिक लगानीमा समेत नकारात्मक असर पारेको निष्कर्ष निकालेको छ।
आयोगले यस्ता गतिविधिमाथि थप अनुसन्धान र नियन्त्रण आवश्यक रहेको सुझाव दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation