काठमाण्डौ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। नवदुर्गा भगवतीको पूजा–आराधना गर्दै विशेषगरी अष्टमी र नवमीलाई महत्त्वका साथ मनाउने परम्परा रहेको छ।
आज अष्टमीलाई चैते दशैँका रूपमा मनाइँदा भोलि नवमीका दिन रामनवमी पर्व मनाइनेछ। यस अवसरमा काठमाण्डौ उपत्यकाका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थान लगायतका मन्दिरमा विशेष पूजा भइरहेको छ भने उपत्यका बाहिरका मनकामना, शैलेश्वरी, वागेश्वरी जस्ता शक्तिपीठहरूमा पनि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।
चैत्र नवरात्रका रूपमा समेत चिनिने यस पर्वमा शक्तिपीठमा पूजा तथा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ।











