टेकराज भुसाल
अर्घाखाँची — जिल्लाको भूमिकास्थान नगरपालिका–१ ढाकावाङ्गस्थित विश्व माध्यमिक विद्यालयलाई नेपाल टेलिकमले १२ थान कम्प्युटर सहयोग गरेको छ।
बिहीबार आयोजित कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका प्रशासनिक अधिकृत निराजन पण्डित र वरिष्ठ सहायक राम बन्जाडेले संयुक्त रूपमा कम्प्युटर हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै पण्डितले सूचना प्रविधिको तीव्र विकाससँगै शिक्षालाई डिजिटल माध्यमसँग जोड्नु आवश्यक रहेको बताए। उनले यस्ता सामग्रीले ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रविधिसँग नजिक ल्याउने र भविष्यमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, उपलब्ध कम्प्युटरहरूको सदुपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रशासनलाई आग्रह गरे।
विद्यालयका सहायक प्राचार्य सन्तबहादुर केसीले नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले सूचना प्रविधि शिक्षामा महत्वपूर्ण टेवा पुग्ने बताए। उनले अब विद्यार्थीहरूले व्यवहारिक रूपमा कम्प्युटर शिक्षा लिन पाउने र सिकाइ प्रक्रिया थप प्रभावकारी बन्ने उल्लेख गरे।
कार्यक्रममा शिक्षकहरू खुमबहादुर बस्नेत, रमेश चौधरी तथा भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालसहित विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
यस सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै ग्रामीण क्षेत्रमा डिजिटल शिक्षाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।











