बालेन शाह बने प्रधानमन्त्री, शीतल निवासमा लिए शपथ

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै नेपालको कार्यकारी नेतृत्व सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
३६ वर्षीय शाह पहिलोपटक संसद् प्रवेश गरेको छोटो समयमै देशको नेतृत्वमा पुग्ने दुर्लभ उदाहरण बनेका छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका उनले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
संविधान २०७२ जारी भएपछि धारा ७६(१) अनुसार बहुमत प्राप्त दलका नेताको रूपमा प्रधानमन्त्री नियुक्त भएको यो पहिलो घटना पनि बनेको छ। साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने शाह पहिलो व्यक्ति भएका छन्।
शपथसँगै प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैंसँग राखेका छन्। उनकाे नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा नयाँ र युवा अनुहारहरूको बाहुल्य देखिएको छ।
उपप्रधानमन्त्रीसरह वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने सुधन गुरुङले गृह मन्त्रालय सम्हालेका छन्। शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त भएका छन्।
त्यस्तै, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, खड्कराज पौडेल (गणेश) पर्यटनमन्त्री बनेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेलले सम्हालेका छन् भने निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्। विक्रम तिमिल्सिना सञ्चारमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रम, रोजगार मन्त्री र सोविता गौतम कानुन मन्त्री नियुक्त भएका छन्।
यस्तै, गीता चौधरीले कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन्।
नयाँ सरकारसँग अब जनअपेक्षा उच्च रहेको छ। शासनशैली, पारदर्शिता र विकासका एजेन्डामा शाह नेतृत्वको सरकार कसरी अघि बढ्छ भन्नेमा देशको ध्यान केन्द्रित भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation