काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको १५ सदस्यीय मन्त्रिपरिषद्मा महिला सहभागिता उल्लेखनीय देखिएको छ। नयाँ सरकारमा पाँच जना महिलाले मन्त्रीको जिम्मेवारी सम्हालेका छन्, जसले समावेशिताको सन्देश दिएको छ।
सरकारमा सोविता गौतमलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, सीता वादी महिला, बालबालिका मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री र गीता चौधरी कृषि मन्त्री बनेका छन्।
यीमध्ये सोविता गौतम प्रत्यक्ष निर्वाचित सांसद हुन् भने अन्य चार जना समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पुगेका हुन्।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन्।
नयाँ मन्त्रिपरिषद्मा महिलाको उपस्थिति बढेसँगै लैङ्गिक समावेशिताको पक्ष अझ सशक्त हुने अपेक्षा गरिएको छ।











