
-सागर बेल्बासे
दुरदराजका गाउँमा तिर्खा लाग्दा मोहि होइन
कोल्ड ड्रीङ्क्स चाहिन्छ !
खाजामा रोटि र तरकारी होइन
चाउचाउ र चाउमिन मात्रै पाइन्छ !
आफ्नो ठाउँमा फल्ने फलफूल होइन
बाहिरबाट मगाएका फलफूल खाइन्छ !
हरेक अवसरमा केक ल्याइन्छ !
के यो राजनीति होइन ?
स्थानीय उत्पादन सक्ने राजनीति !
उपभोक्तावादी राजनीति !?
कहाँ छैन राजनीति ?
मन्दिर र चर्चमा बजेट पर्दा
विद्यालयलाई छोडिन्छ !
कमिसन मागिन्छ अनि सडक सोहोरिन्छ
भएका सार्वजनिक ठाउँमा कब्जा गरिन्छ
पोखरीमा ढलान गरिन्छ,
जङ्गलका बीचमा बृक्षरोपणको नाटक मञ्चन गरिन्छ
योजना बनाउन बैठक आयोजना गरिन्छ
बैठकमा भत्ता खाने योजनाको निर्माण गरिन्छ !
के यो राजनीति होइन ?
कमिसनको राजनीति
भोटको राजनीति !
बिद्यालय शिक्षा ध्वस्त हुँदैछ,
गरिबलाई सरकारी अस्पतालमा बेड मिल्दैन
जनताले पसिना जम्मा गरेको सहकारी लुटिदैंछ
पहाडका जग्गा बाँदरको लागि खेलमैदान हुँदै छ
युवालाई विदेश पठाएर रेमिटेन्समा होली खेलिएको छ
लोकप्रिय बन्ने नाउँमा
खेलमा लगानी गरिन्न !
पैसा बाडिन्छ, खेलाडीसङ्ग फोटो खिचिन्छ !
के यो सबै राजनिती होइन ?
नेपाली युवालाई नक्कली विदेशी बनाएर बेच्दा
के राजनीति गरिएको होइन ?
लुटको राजनीति !
ठगी धन्दाको राजनीति !
खेती हुने जग्गामा घर बनाएर,
घरको छतमा फलेको एउटो बोडी देखाइन्छ
अन्नभण्डार भनिने जग्गामा प्लटिङ गरेर भवन बनाइन्छ ।
सहकारी ठग्नेदेखी-मान्छेलाई नक्कली बनाएर बेच्ने
नागरिकता दुरुपयोग देखी- नदिलाना बेच्ने
सार्वजनिक जग्गालाई कब्जा गर्ने,
सुनको तस्करी गर्ने,
यी सबै ठगहरूलाई
बारम्बार सत्तामा पुर्याउने,
अनि आफ्नो ब्यक्तिगत स्वार्थ पुर्ती गर्ने,
के यो राजनीति होइन ?
भेडाको राजनीति ?!
दासताबाट उम्किन नसक्नुको राजनीति !
कहाँ छैन राजनीति ?
शिक्षक नियुक्ति देखि कर्मचारी सरुवामा ?
बिकासका बजेटदेखि बजेटका बिकासमा ?
हामीले फेर्ने स्वासदेखि खाने खानामा ?
जन्मिएपछी साल काट्ने चक्कुदेखि
मरेको लासमाथी ओढाइने झण्डासम्म
कहाँ छैन राजनीति ?
तपाईं र म अनि म र तपाईं ?
कसलाई छोएन राजनीतिले ?
समस्या राजनीतिमा होइन,
राजनीतिको आडमा गरिने फोहोरी खेलमा हो !