रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ इँटाभट्टी क्षेत्रमा मंगलबार दिउँसो ईभी माइक्रो बस र ई–रिक्सा आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
दुर्घटनामा ई–रिक्सा चालक अर्घाखाँची पाणिनि गाउँपालिका–१ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका करिब ३२ वर्षीय गोविन्द विकको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परी ई–रिक्सामा सवार बुटवल–२ मैनाबगरकी २३ वर्षीया कृतिका आले मगर घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार तिनकुनेबाट बसपार्कतर्फ आउँदै गरेको बा.प्र.०३००१ ज १२२९ नम्बरको ईभी माइक्रो बस र विपरीत दिशाबाट जाँदै गरेको रा १ ह ४४३४ नम्बरको ई–रिक्सा एकआपसमा ठोक्किएका थिए।
घटनापछि माइक्रो बस चालक चितवन भरतपुर महानगरपालिका–१५ रामपुरका ३४ वर्षीय साजन परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।











