एफएनजे फुटसल: ग्लोबल आवाज र युवा उद्यमी मञ्च च्याम्पियन

बुटवल, चैत १७ — नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा सम्पन्न दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगितामा मिडिया कपतर्फ ग्लोबल आवाज र कर्पोरेट कपतर्फ नेपाल युवा उद्यमी मञ्च रुपन्देही विजेता बनेका छन्।
महासंघको ७१औँ स्थापना दिवसको अवसरमा बुटवलमा दुई दिनसम्म सञ्चालन गरिएको प्रतियोगिताको मिडिया कपतर्फको फाइनलमा ग्लोबल आवाजले बुद्ध सामुदायिक टेलिभिजनलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। विजेता ग्लोबल आवाजले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता बुद्ध सामुदायिक टेलिभिजनले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
त्यस्तै कर्पोरेट कपतर्फको फाइनल खेलमा नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले नेपाल इन्जिनियर्स एशोसिएसन, लुम्बिनी प्रदेशलाई २–० गोल अन्तरले हराउँदै उपाधि हात पार्यो। विजेता मञ्चले नगद ३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता इन्जिनियर्स एशोसिएसनले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ मिडिया कपमा ग्लोबल आवाजका डिबी सुस्लिङ उत्कृष्ट खेलाडी घोषित भए भने बुद्ध सामुदायिक टेलिभिजनका स्वस्तिक श्रेष्ठ सर्वाधिक गोलकर्ता बने। ग्लोबल आवाजकै प्रकाश न्यौपाने उत्कृष्ट गोलरक्षक चुनिए।
कर्पोरेट कपतर्फ नेपाल इन्जिनियर्स एशोसिएसनका क्रितेश श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित हुँदा नेपाल युवा उद्यमी मञ्चका मञ्जिल विक उत्कृष्ट खेलाडी र राहुल कौशधन उत्कृष्ट गोलरक्षक बने।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय, नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रमुख भूपेन्द्रबहादुर खत्री तथा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तव लगायतले पुरस्कार वितरण गरेका थिए।
यसै अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको पत्रकारिता पुरस्कार खेलकुद पत्रकार सुमन अधिकारीलाई प्रदान गरिएको छ। जिल्लामा रहेर खेलकुद पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई नगद २५ हजारसहित सम्मान गरिएको महासंघका सचिव सिपी खनालले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation