रुपन्देहीमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा सैनामैना नगरपालिका शीर्ष स्थानमा उक्लिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा सार्वजनिक पछिल्लो नतिजाअनुसार १६ स्थानीय सरकारमध्ये सैनामैनाले ७३.१ अंक प्राप्त गर्दै जिल्लामै पहिलो स्थान हासिल गरेको हो।
यसअघि माघ २९ गते सार्वजनिक प्रारम्भिक नतिजाप्रति असन्तुष्टि जनाउँदै नगरपालिकाले पुनर्मूल्यांकनको माग गरेको थियो। सोही अनुरोधका आधारमा आयोगले पुनः मूल्यांकन गरी संशोधित नतिजा सार्वजनिक गर्दा सैनामैना अग्रस्थानमा पुगेको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिए।
आयोगले स्थानीय तहहरूको कार्यसम्पादन १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको थियो। बजेट समयमै सार्वजनिक र पारित गर्ने, राजस्व बाँडफाँटको रकम प्रदेश सञ्चित कोषमा नियमित रूपमा जम्मा गर्ने, बजेट समीक्षा तथा आगामी आर्थिक वर्षको प्रक्षेपण पेश गर्ने जस्ता वित्तीय अनुशासनसम्बन्धी सूचकहरूलाई मुख्य आधार बनाइएको छ।
त्यसैगरी खर्च व्यवस्थापन, राजस्व परिचालन, बेरुजु नियन्त्रण, ‘सूत्र’ सफ्टवेयरको प्रयोग, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सूचकहरू पनि मूल्यांकनमा समेटिएका छन्। विद्यार्थी भर्ना र टिकाउ दर, एसईई नतिजा, गर्भ जाँच गराउने महिलाको अनुपात तथा बालबालिकाको खोप दरजस्ता सामाजिक सूचकहरूलाई समेत प्राथमिकता दिइएको आयोगले जनाएको छ।
समग्र सूचकमा राम्रो प्रदर्शन गर्दै सैनामैना नगरपालिका जिल्लामा उत्कृष्ट बन्न सफल भएको हो।










