रुपन्देही — रुपन्देहीको शुद्धोदन गाउँपालिकामा गाउँपालिका स्तरीय पूर्ण खोप दीगोपना तयारी तथा कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। बुधबार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा यसको दीगोपनालाई कसरी कायम राख्ने भन्ने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। साथै, नियमित अनुगमन, अभिलेखीकरण र समन्वयलाई सुदृढ गर्दै बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन प्रतिबद्धता व्यक्त गरिएको थियो।
गाउँपालिका अध्यक्ष तथा अन्य वक्ताहरूले पूर्ण खोप अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। कार्यक्रममा आगामी कार्ययोजना समेत तय गरिएको जनाइएको छ।










