शुद्धोदनमा खेलकुद शिक्षकको क्षमता विकास तालिम सुरु

रुपन्देही — रुपन्देहीको शुद्धोदन गाउँपालिकाले विद्यालयस्तरबाटै खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै खेलकुद शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम कार्यक्रम सुरु गरेको छ। गाउँकार्यपालिका कार्यालयको आयोजनामा बुधबार फर्साटिकर माध्यमिक विद्यालयको सभा हलमा आयोजित उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका खेलकुद शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माले विद्यालयस्तरमै खेलकुद प्रशिक्षणलाई व्यवस्थित गर्दै विद्यार्थीको प्रतिभा पहिचान र विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले खेलकुदलाई शिक्षासँगै जोडेर लैजानु आवश्यक रहेकोमा जोड दिनुभयो।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले खेलकुद शिक्षकहरूको क्षमता अभिवृद्धि बिना गुणस्तरीय खेलकुद विकास सम्भव नहुने उल्लेख गर्दै विद्यालयस्तरमै एथलेटिक्सलगायतका खेलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताउनुभयो। उहाँले स्थानीय तहबाटै खेलकुद संरचना बलियो बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो।
शुद्धोदन गाउँपालिका–४ का वडा अध्यक्ष तथा प्रवक्ता केशव प्रसाद अधिकारीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न विद्यालय खेलकुदलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। उहाँले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र नेतृत्व विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो।
तालिममा शारीरिक शिक्षा (PT), म्युजिकल पीटी, एथलेटिक्सका विभिन्न विधासहित भलिबल, फुटबल, योगाजस्ता खेलहरू समेटिने जनाइएको छ।
केशव प्रसाद अधिकारीको अध्यक्षता, गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यता, उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागत तथा शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation