काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा पुनः वृद्धि गर्दै पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ बढाएको छ। नयाँ दर चैत २० गते बिहानदेखि लागू भएको निगमले जनाएको छ।
संशोधित मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलजस्ता तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। यसअघि १८७ रुपैयाँ रहेको पेट्रोल अब २०० रुपैयाँ नाघेको हो। सोही क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ कायम भएको छ।
पहिलो वर्गका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १९९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १७९ रुपैयाँ ५० पैसा पुगेको छ। त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल २०१ रुपैयाँ तथा डिजेल/मट्टितेल १८१ रुपैयाँ निर्धारण गरिएको छ।
निगमका अनुसार मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।










