फेवाताल जग्गा प्रकरण: गृहमन्त्री सुधन गुरुङ आफैं ठगिए, कानुनी उपचारमा जाने तयारी

 

पोखरा। भ्रष्टाचारी र ठगहरूविरुद्ध कडा अभियान चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफैं ठगिएको खुलासा भएको छ। सर्वोच्च अदालतको आदेशानुसार फेवातालको अतिक्रमित संरचना हटाउने अभियानकै क्रममा मन्त्री गुरुङले करिब ८–१० वर्षअघि व्यवसायका लागि लिजमा लिएको जग्गासमेत मापदण्डभित्रै परेको पाइएपछि यो तथ्य बाहिर आएको हो।

युवा उद्यमीका रूपमा ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्न मन्त्री गुरुङसहित तीन जना साझेदारले जग्गा भाडामा लिएका थिए। जग्गाधनीले उक्त जग्गा फेवातालको ६५ मिटरको मापदण्डभित्र नपर्ने र लालपुर्जा पूर्ण रूपमा सुरक्षित रहेको भन्दै झुक्याएर लिजमा दिएको मन्त्री गुरुङले बताएका छन्। पछि महानगरपालिकाबाट बुझ्दा उक्त जग्गा अतिक्रमित क्षेत्रमा पर्ने थाहा पाएलगत्तै नैतिकताका आधारमा आफूले लगानी र निर्माण कार्य रोकेको उनले स्पष्ट पारेका छन्।

आफ्नो सपना र ठूलो लगानीमाथि जग्गाधनीले ठगी र खेलबाड गरेको भन्दै मन्त्री गुरुङले अब कडा कानुनी उपचार खोज्ने दृढता व्यक्त गरेका छन्। आफूहरूमाथि भएको यो अन्यायविरुद्ध कानुनी प्रक्रियामा कत्ति पनि विचलित नभई अगाडि बढ्ने उनले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation