सरकारी विज्ञापन नीतिबारे पुनर्विचारको आग्रह, मन्त्रीसँग पत्रकार महासंघको संवाद

काठमाडौं, २३ चैत — नेपाल पत्रकार महासंघ ले सरकारको हालैको विज्ञापन नीतिप्रति असन्तुष्टि जनाउँदै पुनर्विचार गर्न माग गरेको छ। सोमबार महासंघको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना सँग भेटघाट गरी उक्त विषयमा ध्यानाकर्षण गराएको हो।
महासंघ अध्यक्ष निर्मला शर्मा को नेतृत्वमा गएको टोलीले चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी निर्देशनले समग्र सञ्चार क्षेत्रमै नकारात्मक प्रभाव पार्न सक्ने बताएको छ। सो निर्देशनअनुसार सरकारी सूचना तथा विज्ञापन अब सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ।
भेटवार्तामा मन्त्री तिमिल्सिनाले विगतमा सरकारी विज्ञापन बजेटको दुरुपयोग, श्रमजीवी पत्रकारसम्म प्रत्यक्ष लाभ नपुगेको अवस्था र बिचौलियाको प्रभाव बढ्दै गएको कारण यस्तो निर्णय लिनुपरेको स्पष्ट पारे। उनले श्रमजीवी पत्रकारको हकहितप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै उचित मागहरू सम्बोधन गर्न पहल गर्ने आश्वासन पनि दिए।
यता महासंघले भने नयाँ व्यवस्थाले निजी सञ्चारमाध्यमहरू कमजोर बन्ने खतरा औंल्याउँदै सबै पक्षलाई समेट्ने सन्तुलित नीति आवश्यक रहेको धारणा राखेको छ।
सरकारले भने खर्चमा मितव्ययिता कायम गर्ने, विज्ञापन वितरणलाई पारदर्शी बनाउने तथा सरकारी सञ्चारमाध्यमलाई सुदृढ गर्ने उद्देश्यले नयाँ नीति ल्याइएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation