भारत, बठिंडा । भारतको पंजाब राज्य अन्तर्गत बठिंडाको रामपुरा फूल क्षेत्रमा आइतबार, अप्रिल ५, २०२६ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको १२औँ एरिया सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न उक्त सम्मेलनले संगठनात्मक सुदृढीकरणसँगै अधिकार, एकता र पहिचानको आवाजलाई थप मजबुत बनाएको छ।
सम्मेलनको उद्घाटन मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले गरेका थिए। उनले करतार ध्वनिसहित व्यानर उद्घाटन गर्दै आफ्नो मन्तव्यमा भारतस्थित नेपालीहरूबीच एकता, सहकार्य र आपसी सद्भाव अपरिहार्य रहेको उल्लेख गरे। उनले मूल प्रवाहले सधैं प्रवासी नेपालीहरूको हक, अधिकार र सम्मानका लागि दृढतापूर्वक आवाज उठाउँदै आएको बताउँदै आगामी दिनमा पनि कुनै पनि चुनौतीसँग नडराई संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। भट्टराईले भने, “प्रवासी नेपालीहरूबीचको एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो, जसले हामीलाई अधिकार सुनिश्चित गर्न सक्षम बनाउँछ।”
सम्मेलनबाट कृष्ण नेपालीको अध्यक्षतामा १७ सदस्यीय नयाँ एरिया समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। समितिमा उपाध्यक्ष सन्त नेपाली, सचिव कमल भण्डारी, सहसचिव जितबहादुर नेपाली र कोषाध्यक्ष लंक नेपाली चयन भएका छन्। यसैगरी सदस्यहरूमा पूर्ण बराई, रामु पाण्डे, बाबुराम भट्टराई, भुपाल पुलामी, लालबहादुर भण्डारी र चन्द्रबहादुर नेपाली रहेका छन्।
त्यस्तै, वैकल्पिक सदस्यहरूमा विष्णु नेपाली, रामबहादुर नेपाली र रोशन पल्ली चयन भएका छन् भने सल्लाहकारहरूमा वेदबहादुर कुमाल, सञ्जे घर्ती मगर र मोहन आले रहेका छन्। नवनिर्वाचित कार्यसमितिको प्यानल क्षेत्रीय सांस्कृतिक सदस्य राजु खनालले प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरूले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। बधाई मन्तव्य राख्नेहरूमा केन्द्रीय सदस्य नरबहादुर ओली, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य जागेश्वर न्यौपाने, महिला क्षेत्रीय सदस्य मञ्जु शर्मा, क्षेत्रीय सदस्य नारायण भुसाल तथा स्थानीय स्तरका गणेश पोख्रेल, विष्णु न्यौपाने, नारायण केसी, माया ओली र खिमा खड्का लगायत रहेका थिए।
कार्यक्रम लंक बहादुर नेपालीको अध्यक्षता तथा नरबहादुर मरन्ठानीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको सुरुवातमा ज्ञात–अज्ञात सहिदहरूप्रति मौनधारण गरिएको थियो भने स्वागत मन्तव्य सचिव कमल भण्डारीले दिएका थिए। साथै सांस्कृतिक कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाएको थियो।
समग्रमा, सम्मेलनले प्रवासी नेपालीहरूको संगठनलाई अझ सुदृढ बनाउँदै सामूहिक एकता, अधिकार र पहिचानको अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।











