भैरहवा, २४ चैत । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरी लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव, भारतको महाराजगंज जिल्लाको पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेका छन्।
प्रहरीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले निगरानी बढाएको थियो। सोही क्रममा कोटहवाबाट छिपागढतर्फ आउँदै गरेको यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा उनीहरू भाग्ने प्रयास गरेका थिए।
भाग्ने क्रममा मोटरसाइकलबाट लडेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भएको र त्यसबाट एक प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरेको थियो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद गरेको जनाएको छ।
गोली लागेर घाइते भएका विशाल यादवको बायाँ खुट्टाको पिँडुलामा चोट लागेको छ र उनको भीम अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।











