शंकर प्रसाद पोख्रेल ,
बुटवल चैत ,२५
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, लुम्बिनी प्रदेश, रुपन्देही (बुटवल) को आयोजनामा “लुम्बिनी प्रदेशमा भैंसीको वंश सुधार तथा उत्पादकत्व वृद्धि” विषयक प्राविधिक कार्यशाला सम्पन्न भएको छ। प्रदेशमा पशुपालन क्षेत्रको दीगो विकास, दुग्ध उत्पादनमा वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा नीति निर्माता, प्राविधिक, विज्ञ तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। आफ्नो मन्तव्यमा मन्त्री पन्थीले पशुपालन क्षेत्रलाई आधुनिक, वैज्ञानिक र व्यावसायिक बनाउँदै लैजानु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले भैंसी पालनलाई प्रदेशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा व्याख्या गर्दै उन्नत नस्ल विकास, कृत्रिम गर्भाधान, पोषण व्यवस्थापन तथा रोग नियन्त्रणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। साथै, किसानमैत्री नीति, प्रविधि हस्तान्तरण र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
निमित्त महानिर्देशक श्रवण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य निर्देशनालयका वरिष्ठ अधिकृत लोकराज भुसालले राख्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा भुसालले प्रदेशमा भैंसी पालनको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रकाश पार्दै यस्ता प्राविधिक कार्यशालाले नीति निर्माण र कार्यान्वयनबीच समन्वय कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यशालामा प्रस्तुत कार्यपत्र र विषयगत प्रस्तुतीकरणहरू अत्यन्तै उपयोगी र जानकारीमूलक रहेका थिए। वरिष्ठ पशु विज्ञ डा. भूमिनन्दन देवकोटाले “नेपालमा भैंसीको वंश सुधारको अवधारणा, तरिका र यसको महत्व” विषयमा विस्तृत प्रस्तुतीकरण दिनुभएको थियो। उहाँले परम्परागत पशुपालन प्रणालीलाई वैज्ञानिक आधारमा रूपान्तरण गर्न नस्ल सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उन्नत भैंसीको विकासमार्फत दूध उत्पादन, प्रजनन क्षमता र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिने बताउनुभयो। साथै, स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गर्दै दिगो पशुपालन प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यसैगरी, डा. श्रीधर न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशमा भैंसी पालनको अवस्था, उत्पादन प्रवृत्ति, समस्याहरू तथा सुधारका सम्भावित उपायहरूको विश्लेषण प्रस्तुत गर्नुभयो। उहाँको प्रस्तुतीकरणमा तथ्यांक र अनुसन्धानमा आधारित सुझावहरू समेटिएका थिए, जसले भविष्यका नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यशालामा डा. भक्त न्युरे, डा. लोकनाथ पौडेल, रामप्रसाद पाण्डे, डा. निराजन भट्टराई लगायतका विज्ञ तथा प्राविधिकहरूले आ–आफ्ना अनुभव, अनुसन्धान र सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले भैंसीको गुणस्तरीय बीउ उत्पादन, चरन व्यवस्थापन, पोषण सुधार, पशु स्वास्थ्य सेवा सुदृढीकरण तथा बजार पहुँच विस्तारका विषयमा महत्वपूर्ण धारणा राखेका थिए। सहभागीहरूले आधुनिक प्रविधिको प्रयोग, किसानलाई नियमित तालिम तथा परामर्श सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।








