शंकर प्रसाद पोख्रेल
बुटवल, चैत २६
रुपन्देहीको बुटवलमा कृतिम गर्भाधानकर्ता तथा पशु प्रजनन क्षेत्रसँग आबद्ध सरोकारवालाबीच एक महत्वपूर्ण अन्तरक्रिया गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न भएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बुटवलको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले पशु प्रजनन सेवाको गुणस्तर सुधार, कृषकलाई प्रविधिमैत्री बनाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ गहन छलफल तथा व्यवहारिक प्रशिक्षण प्रदान गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पशु सेवा विभागका सहसचिव हेमराज अवस्थीले नेपालमा पशुपालन क्षेत्रको आधुनिकीकरण अपरिहार्य रहेको उल्लेख गर्दै कृतिम गर्भाधान सेवाको प्रभावकारी विस्तारले दूध तथा मासु उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आत्मनिर्भर कृषि प्रणाली निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति, गुणस्तरीय सेवा र प्रभावकारी व्यवस्थापन अनिवार्य रहेको धारणा राख्नुभयो।
विशेष अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका संघीय सहसचिव डा. रामनन्दन तिवारीले कृतिम गर्भाधान प्रविधि पशु स्वास्थ्य सुधार तथा उत्पादन वृद्धिको आधारस्तम्भ भएको बताउनुभयो। उहाँले गुणस्तरीय वीर्य, दक्ष जनशक्ति र समयमै सेवा उपलब्ध गराउन सके कृषकको आय वृद्धि भई समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. भुमिनन्दन देवकोटाद्वारा सञ्चालन गरिएको कृतिम गर्भाधानसम्बन्धी तालिम रहेको थियो। उहाँले सहभागीहरूलाई वैज्ञानिक तथा व्यवहारिक ज्ञान प्रदान गर्दै पशु प्रजनन प्रणालीको आधारभूत संरचना, कृतिम गर्भाधानको विधि, उपयुक्त समय पहिचान तथा सफल गर्भाधानका लागि आवश्यक व्यवस्थापन पक्षबारे विस्तृत प्रशिक्षण दिनुभयो।
डा. देवकोटाले गाई–भैंसीमा देखिने बाँझोपन (infertility) का प्रमुख कारणहरू पोषणको कमी, रोगव्याधि, हर्मोन असन्तुलन तथा व्यवस्थापन कमजोरीबारे स्पष्ट पार्दै तिनको समाधानका व्यावहारिक उपायहरू प्रस्तुत गर्नुभयो। उहाँले कृतिम गर्भाधान प्रविधिलाई उन्नत जात विकास, उत्पादन वृद्धि र पशुपालन व्यवसायलाई व्यावसायिक तथा दिगो बनाउन महत्वपूर्ण साधनका रूपमा व्याख्या गर्नुभयो।
त्यस्तै, डा. श्रीराम न्यौपानेले पशु प्रजननको महत्त्वबारे प्रस्तुति दिँदै कृतिम गर्भाधानको सही प्रयोग र नियमित अनुगमनले पशुपालन क्षेत्रलाई थप उत्पादनशील र लाभदायी बनाउन सकिने धारणा राख्नुभयो।
निमित्त महानिर्देशक श्रवणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य निर्देशनालयका वरिष्ठ अधिकृत लोकराज भुसालले राख्नुभएको थियो। उहाँले यस्ता कार्यक्रमले प्राविधिक, कृषक र नीति निर्माता बीच सहकार्य तथा समन्वयलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी कृतिम गर्भाधानकर्ताहरूले आफ्नो कार्यक्षेत्रका अनुभव, समस्या र चुनौतीहरू प्रस्तुत गरेका थिए। उनीहरूले आवश्यक उपकरणको अभाव, तालिमको सीमितता तथा सेवा विस्तारमा देखिएका व्यावहारिक कठिनाइबारे ध्यानाकर्षण गराउँदै थप प्राविधिक सहयोग, क्षमता विकास र नीति सुधारको आवश्यकता औंल्याएका थिए।
कार्यक्रमको सञ्चालन डा. नवीन बस्यालले गर्नुभएको थियो। गोष्ठी तथा तालिममा प्राप्त सुझाव र अनुभवहरूलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समेट्ने आयोजकले जनाएको छ।
समग्रमा, बुटवलमा सम्पन्न उक्त अन्तरक्रिया गोष्ठी तथा तालिम कार्यक्रमले कृतिम गर्भाधान सेवाको गुणस्तर अभिवृद्धि, पशु प्रजनन व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग र कृषकको उत्पादन तथा आम्दानी वृद्धि गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूले बताएका छन।











