शुद्धोदन गाउँपालिकाको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

रुपन्देही — शुद्धोदन गाउँपालिकाद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरूको आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम शुक्रबार गाउँपालिकाको कार्यालय सभाहलमा सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मंसिर १ गतेदेखि फागुन मसान्तसम्मको अवधिमा सम्पन्न भएका गतिविधिहरूको समीक्षा गरिएको थियो। कार्यक्रममा सातै वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।
समीक्षा कार्यक्रममा गाउँपालिकाका विषयगत शाखा प्रमुख तथा वडा सचिवहरूले आ–आफ्ना क्षेत्रअन्तर्गत सञ्चालन भएका योजना, कार्यक्रम, भौतिक तथा आर्थिक प्रगति सम्बन्धी विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्यालले चालु आर्थिक वर्षका विनियोजित बजेट तथा कार्यक्रमहरू समयमै सम्पन्न गर्न विशेष कार्ययोजना बनाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिनुभयो। उहाँले समीक्षा क्रममा आएका सुझावहरूलाई ग्रहण गर्दै जनताको माग र आवश्यकताको आधारमा विकास निर्माणका कार्यलाई अगाडि बढाइने बताउनुभयो। साथै, बजेट कार्यान्वयनलाई उपलब्धिमूलक बनाउँदै जनसहभागितामार्फत गाउँपालिकाका गतिविधि अघि बढाइने धारणा व्यक्त गर्नुभयो।
समीक्षा कार्यक्रममा उठेका जिज्ञासा तथा सवालहरूको जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले गाउँपालिकाबाट प्रवाह हुने सेवालाई अझ सरल, सहज, छिटोछरितो र चुस्तदुरुस्त बनाउनेतर्फ सम्पूर्ण टिम प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सेवाग्राहीलाई ‘मुस्कानसहितको सेवा’ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै देखिएका कमी–कमजोरी सुधार गरी आगामी तेस्रो चौमासिक समीक्षासम्म अझ प्रभावकारी कार्यसम्पादन गरिने उल्लेख गर्नुभयो।
गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागत मन्तव्य तथा प्रशासन शाखाकी तुल्सा अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation