पिल्लर पोखरीमा फालेको आरोप : प्रहरी जवानविरुद्ध कारबाहीको माग

भैरहवा, २७ चैत  रुपन्देहीको ओमसतिया गाउँपालिका–५, दीपनगर दरखसवामा एक महिलाले आफ्नो जग्गा नापीका लागि खरिद गरी राखिएका पिल्लर पोखरीमा फालिएको आरोप लगाउँदै दोषीमाथि कारबाहीको माग गरेकी छन्।
स्थानीय उर्मिला यादवले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिएको निवेदनमा नवलपरासीको नर्सही प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामजित यादवले व्यक्तिगत रिसइबीका कारण आफ्नो सामग्री नष्ट गरेको आरोप लगाएकी छन्।
निवेदनअनुसार, रुपन्देही जिल्ला अदालतबाट आफ्नो अंशमा परेको जग्गाको नापी कार्यका लागि २०८२ चैत २४ गते कर्मचारी खटिने तयारी भइरहेको थियो। सोही प्रयोजनका लागि उर्मिलाले चैत २३ गते १६ वटा आरसीसी पिल्लर खरिद गरी राखेकी थिइन्। तर ती पिल्लर रामजित यादवले आफ्नै घर पछाडि रहेको पोखरीमा फाली क्षति पुर्‍याएको आरोप लगाइएको छ।
उक्त घटनाबाट आफूलाई आर्थिक तथा भौतिक क्षति पुगेको उल्लेख गर्दै उर्मिला यादवले दोषीलाई झिकाई आवश्यक छानबिन गरी क्षतिपूर्ति सहित कानुनी कारबाही गर्न माग गरेकी छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निवेदन प्राप्त भइसकेको जनाएको छ। कार्यालयका अनुसार घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation