हिमाचलमा बसको ठक्करबाट गुल्मीकी युवतीको मृत्यु,

हिमाचल प्रदेश, मनाली (भारत), ०९ अप्रिल २०२६
भारतको हिमाचल प्रदेशअन्तर्गत मनालीमा भएको सडक दुर्घटनामा गुल्मीकी एक युवतीको मृत्यु भएको छ। मनालीमा बसको ठक्करबाट गुल्मी मदाने गाउँपालिका–सिर्सेनी सिम निवासी २८ वर्षीया मीरा विकको ज्यान गएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ मूल प्रवाह प्रवासी नेपाली संगठन, मनालीका अध्यक्ष रतनलाल पुनको नेतृत्वमा सचिवालय टोली तथा कार्यकर्ताहरू घटनास्थल पुगेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार युवती बसबाट ओर्लने क्रममा HP66/2007 नम्बरको बसको टायरले किचिँदा घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ।
मृतक मीरा विक, गुल्मी जिल्ला मदाने गाउँपालिका सिर्सेनी सिम निवासी करण बहादुर विक र पिंकी विककी छोरी हुन्।
मूल प्रवाहको समन्वयमा भारतीय प्रशासन (ADM) मार्फत मृतकका परिवारलाई प्रारम्भिक राहतस्वरूप २५,००० भारतीय रुपैयाँ उपलब्ध गराइएको छ। साथै, १० अप्रिल २०२६ मा पोस्टमार्टम सम्पन्न गरी परिवारजन, आफन्त तथा मूल प्रवाहको सहकार्यमा शवको दाहसंस्कार गरिएको सचिव तिलक सिजापतीले जानकारी दिनुभयो।
मृतकका आश्रितलाई कानुनी प्रक्रिया पूरा भएपछि करिब ४ लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको पनि बताइएको छ।
यसैबीच, मूल प्रवाहले घटनाको निष्पक्ष र सबै कोणबाट छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
— खिमराज चालिसे, रिपोर्ट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation