श्री गंगानगर — मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, श्री गंगानगर नगर समितिमा संगठनको नगर अध्यक्ष पदमा जागेश्वर न्यौपाने चयन हुनुभएको छ।
नगर समितिका अध्यक्ष गिरु प्रसाद न्यौपानेले आफ्नो कार्यव्यस्तताको कारण देखाउँदै निवेदन दिएपछि नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाइएको थियो। सोही सन्दर्भमा १२ अप्रिल २०२६ का दिन विशेष बैठक आयोजना गरिएको थियो, जसमा संगठनका महासचिव त्रिभुवन भट्टराई को विशेष उपस्थिति रहेको थियो।
बैठकले गिरु प्रसाद न्यौपानेद्वारा पेश गरिएको राजीनामा औपचारिक रूपमा अनुमोदन गर्दै रिक्त रहेको अध्यक्ष पदमा जागेश्वर न्यौपानेलाई सर्वसम्मत रूपमा चयन गरेको हो। लामो समयदेखि संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका न्यौपाने यसअघि मुल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्यको जिम्मेवारीमा रहनुभएको थियो। उहाँको संगठनप्रतिको प्रतिबद्धता, नेतृत्व क्षमता र अनुभवलाई मूल्यांकन गर्दै नगर समितिले अध्यक्षको जिम्मेवारी सुम्पिएको बताइएको छ।
कार्यक्रममा बोल्दै महासचिव भट्टराईले संगठनलाई सुदृढ बनाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जागेश्वर न्यौपानेलाई अबिर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै संगठनलाई एकताबद्ध, गतिशील र परिणाममुखी बनाउँदै अगाडि बढ्न आग्रह गर्नुभयो।
यस अवसरमा पूर्व अध्यक्ष गिरु प्रसाद न्यौपानेको योगदानको उच्च प्रशंसा गरिएको थियो। उहाँले सन् २००२ देखि निरन्तर रूपमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठनलाई मजबुत बनाउने कार्यमा महत्वपूर्ण योगदान दिनुभएको स्मरण गरिएको छ। लामो समयसम्म समर्पित भएर नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा बैठकले उहाँप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।

नव–निर्वाचित अध्यक्ष जागेश्वर न्यौपानेले संगठनले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले संगठनको उद्देश्य, सिद्धान्त र मूल्यलाई आत्मसात गर्दै सदस्यहरूबीच एकता, सहकार्य र सक्रियता बढाउँदै लैजाने बताउनुभयो। साथै प्रवासी नेपालीहरूको हकहित संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन तथा संगठनात्मक विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने उहाँको भनाइ थियो।
बैठकले संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने विभिन्न योजना र रणनीतिहरूबारे समेत छलफल गरेको जनाएको छ। नयाँ नेतृत्वसँगै संगठनले थप ऊर्जा र उत्साहका साथ आफ्नो गतिविधि अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।
यस नेतृत्व परिवर्तनलाई संगठनभित्र स्वाभाविक, लोकतान्त्रिक र जिम्मेवार अभ्यासका रूपमा लिइएको छ, जसले भविष्यमा संगठनलाई अझ व्यवस्थित र सुदृढ बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।











