वैशाख २, काठमाडौं — आजदेखि देशका ७५३ वटै स्थानीय तहमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गरिएको छ। नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमका साथ सप्ताह सुरु गरिएको हो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहअनुसार सञ्चालन गरिएको यस अभियानले जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटनाको दर्ता अनिवार्य र समयमै गर्नुपर्ने विषयमा नागरिकलाई सचेत गराउने लक्ष्य लिएको छ।
व्यक्तिगत घटना दर्ता व्यक्तिको कानुनी पहिचान स्थापित गर्ने महत्वपूर्ण आधार हो। साथै, नीति निर्माण, योजना तर्जुमा तथा राज्यबाट प्रदान गरिने सेवा–सुविधा प्राप्त गर्नसमेत यसको महत्वपूर्ण भूमिका रहने बताइएको छ।
यसै सन्दर्भमा, सबै स्थानीय तहले सप्ताहभर विभिन्न जनचेतनामूलक कार्यक्रम, अभिमुखीकरण तथा प्रचार–प्रसारका गतिविधि सञ्चालन गर्ने जनाइएको छ।











