रुपन्देही
बुटवल । बुटवल उपमहानगरपालिकाले सहरलाई व्यवस्थित, सफा र सुरक्षित बनाउने लक्ष्यसहित सडक तथा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। केही दिनअघिदेखि माइकिङमार्फत व्यवसायी तथा सर्वसाधारणलाई स्वेच्छिक रूपमा अतिक्रमण हटाउन आग्रह गरिएको थियो। तर निर्देशनलाई बेवास्ता गरिएपछि बुधबारदेखि उपमहानगरपालिकाले डोजरसहितको टोली परिचालन गर्दै कडाइका साथ अतिक्रमण हटाउन थालेको हो।
अभियानअन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिक चोक क्षेत्रका फुटपाथहरू खाली गराइएको छ। सार्वजनिक आवतजावतका लागि निर्माण गरिएका सडक पेटीहरूमा व्यवसाय सञ्चालन गर्दै आएका केही व्यापारीका सामानसमेत जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख खेलराज पाण्डेले कसैको प्रभाव वा दबाबमा नपरी नियमअनुसार अतिक्रमण हटाइने स्पष्ट पार्दै सहरलाई सुन्दर र व्यवस्थित बनाउने अभियान निरन्तर अघि बढाइने बताएका छन्।
उता फुटपाथ व्यवसायीहरूले भने आफूहरूको जीविकोपार्जन प्रभावित हुने भन्दै वैकल्पिक व्यापारस्थलको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले उचित व्यवस्थापन बिना गरिएको हटाउने कार्यले साना व्यवसायीलाई समस्यामा पार्ने बताएका छन्।
उपमहानगरपालिकाले भने सार्वजनिक स्थलको संरक्षण र नागरिकको सहज आवतजावतलाई प्राथमिकतामा राख्दै अभियानलाई आगामी दिनमा थप विस्तार गरिने जनाएको छ।











