स्थानीय तहमा रिक्त ३९ पदमा आगामी १६ मंसिरमा उपनिर्वाचन हुने

स्थानीय तहमा रिक्त ३९ पदमा आगामी १६ मंसिरमा उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो ।

मन्त्रिपरिषद् बैठकअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर रिक्त पदमा १६ मंसिर आइतबारका दिन उपनिर्वाचन सम्पन्न गर्ने गरी मिति तोक्न परामर्श दिएका थिए । ‘चाडपर्वपछि मंसिरको मध्यमा उपनिर्वाचन उपयुक्त हुन्छ भनेर सरकारलाई परामर्श दिएका हौँ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘सरकारले तोकेको मितिमा उपनिर्वाचन गराउन आयोग सक्षम छ, हामी तयारै छौँ ।’

थपलियाका अनुसार स्थानीय तहमा जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक–एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० पद खाली छन् । स्थानीय तह निर्वाचन ऐनले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, कुनै पनि पालिकाका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षलगायतको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुने व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation