काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल तथा आन्तरिक हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख ३ गते (बिहीबार) मध्यरातदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरिएको हो।
नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ। यस्तै, आन्तरिक हवाई इन्धनको मूल्यमा पनि प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। पेट्रोलको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
मूल्य समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम भएको छ। दोस्रो वर्गमा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ पुगेको छ।
त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ कायम गरिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको उतारचढावका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।











