बुटवलका व्यवसायी संघसंस्थाहरूद्वारा उपमहानगरपालिकाको कार्यप्रति ध्यानाकर्षण: जफत गरिएका सामान फिर्ता गर्न माग

​बुटवल, ५ वैशाख ।
बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रमा गरेको पछिल्लो हस्तक्षेपप्रति बुटवलका चार प्रमुख व्यावसायिक संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।
​रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले बुधबार एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाको कदमले विगतमा भएका सहमतिहरूको उल्लंघन गरेको ठहर गरेका हुन्।
​विज्ञप्तिका मुख्य बुँदाहरू:
​बलपूर्वक हस्तक्षेपको विरोध: गत वैशाख ३ गते बुटवलका अमरपथ, विपी चोक, राममन्दिर लाइन लगायतका क्षेत्रमा उपमहानगरपालिकाले बलपूर्वक गरेको कार्यप्रति व्यवसायीहरूले आपत्ति जनाएका छन्।
​सहमति उल्लंघनको आरोप: व्यवसायीका सटर र पिलरभित्रका सामानहरू विना कुनै लेखाजोखा उठाइएको, सटरमा क्षति पुर्‍याइएको र अस्थायी पाली तथा होर्डिङ बोर्डहरू जफत गरिएको कार्यलाई संघसंस्थाहरूले सहमति विपरीतको कदम भनेका छन्।
​फिर्ताको माग: उपमहानगरपालिकाले जफत गरेका सम्पूर्ण सामानहरू सम्बन्धित व्यवसायीलाई अविलम्ब फिर्ता गर्न र फुटपाथ तथा अस्थायी पालीका विषयमा स्पष्ट मापदण्ड तयार गर्न जोडदार माग गरिएको छ।
​सहकार्यको अपिल: व्यवसायीहरूले बुटवलको सौन्दर्यीकरण, ट्राफिक व्यवस्थापन र पैदलयात्रीको सहजताका लागि आफूहरू सकारात्मक रहेको भन्दै सम्पूर्ण व्यवसायीहरूलाई यस कार्यमा सहयोग गर्न समेत अनुरोध गरेका छन्।
​विज्ञप्तिमा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थीले हस्ताक्षर गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation