सल्यानमा जन्ती बोकेको जिप दुर्घटना : ४ जनाको मृत्यु, १४ घाइते

सल्यानको बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको दुःखद मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शनिबार साँझ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप बनगाड कुपिण्डे–१२ धाइरेमा अनियन्त्रित भई करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सुर्खेतस्थित मेहलकुना अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। मृतकहरूमा टोपबहादुर थापा, ठगे घर्ती, कर्णबहादुर पुन र मनबहादुर थापा रहेका छन्।
दुर्घटनामा घाइते १४ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइतेहरूलाई उपचारका लागि अस्पतालमा राखिएको छ भने अन्य घाइतेहरूको पनि उपचार भइरहेको छ।
प्रहरीका अनुसार जिप चालक कुलबहादुर रानाले चलाएको उक्त जिप अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक जानकारी छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो दुर्घटनाले सल्यान शोकमा डुबेको छ। जन्ती जस्तो खुसीको यात्रामा निस्किएका यात्रुहरू दुर्घटनामा पर्नु अत्यन्त पीडादायी घटना बनेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation