न्यू स्ट्याण्डर्ड हाई स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

बुटवल : न्यू स्ट्याण्डर्ड इङ्लिस हाई स्कुल, बुटवल–१२ नयाँगाउँले २०८२ सालको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्लि प्रसाद शर्मा आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयको नतिजा सार्वजनिक गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले विद्यालयले धेरै अभिभावकको विश्वास जित्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको उल्लेख गरे। उनले बदलिँदो समयअनुसार विद्यालयलाई अझ परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए। साथै, बुटवलको शैक्षिक क्षेत्रको गहना रूपमा रहेको यस विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट नतिजा दिने अपेक्षा व्यक्त गरे।

त्यस्तै, विशिष्ट अतिथि दीप बोर्डिङ हाई स्कुलका प्राचार्य टिकाराम न्यौपानेले विद्यालय अब व्यवहारिक र गुणस्तरीय शिक्षातर्फ उन्मुख हुनुपर्ने बताए। उनले तिनाउ वारि र तिनाउ पारिको शैक्षिक अन्तरलाई न्यूनिकरण गर्न आफूहरू सक्रिय रहेको उल्लेख गर्दै नयाँगाउँ क्षेत्र सम्भावनायुक्त रहेको धारणा राखे। उनले “अब पढ्नका लागि मात्र होइन, सिक्नका लागि विद्यालय जानुपर्छ” भन्दै शैक्षिक सुधारमा जोड दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पाठकले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रम न्यू स्ट्याण्डर्ड इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य शारदा ज्ञवालीको स्वागत तथा सह–प्राचार्य बाबुराम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation