शंकर प्रसाद पोख्रेल ,बुटवल नेपाल
लुधियाना सिटी नगर समितिको आयोजनामा देशको वर्तमान अवस्था, राजनीतिक परिस्थिती तथा प्रवासी नेपालीहरूको भूमिका विषयक प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले नेपालको समसामयिक राजनीतिक अवस्था, लोकतन्त्र, नागरिक अधिकार, प्रवासी नेपालीहरूको संगठनात्मक भूमिका तथा वर्तमान सरकारको कार्यशैलीबारे धारणा राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराई ले वर्तमान बालेन सरकारप्रति टिप्पणी गर्दै फासिवाद र निरंकुशताको झल्को देखिएको आरोप लगाउनुभयो। उहाँले सरकारका कतिपय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत गएको उल्लेख गर्दै जनअधिकार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सचेत रहनुपर्नेमा जोड दिनुभयो।
महासचिव भट्टराईले भारतस्थित नेपालीहरूको हक, अधिकार र संगठनात्मक एकताका लागि मुल प्रवाह महत्वपूर्ण र सशक्त संगठनका रूपमा स्थापित रहेको बताउनुभयो। उहाँले प्रवासी नेपालीहरू केवल रोजगारीका लागि विदेशमा रहेको समुदाय मात्र नभई राष्ट्रिय राजनीतिक चेतना र सामाजिक परिवर्तनका संवाहकसमेत भएको उल्लेख गर्नुभयो। नेपालको वर्तमान परिस्थितिमा संगठित शक्ति निर्माण अपरिहार्य रहेको भन्दै प्रवासी नेपालीहरूलाई अझ सशक्त ढंगले संगठित हुन आह्वान गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि, क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय सदस्य तारा सोमरे ले देशको राजनीतिक उतारचढावका बीच जनपक्षीय आन्दोलनलाई सुदृढ बनाउन वैचारिक प्रशिक्षण र संगठन विस्तार आवश्यक रहेको बताउनुभयो। उहाँले श्रमिक, प्रवासी र उत्पीडित समुदायको आवाजलाई बलियो बनाउन मुल प्रवाहले निरन्तर भूमिका खेलिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको अध्यक्षता चक्र चन्द ले गर्नुभएको थियो। अध्यक्षीय मन्तव्यका क्रममा उहाँले संगठनलाई थप मजबुत, अनुशासित र क्रियाशील बनाउँदै वर्तमान चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो। कार्यक्रमको सञ्चालन गोविन्द परियार ले गर्नुभएको थियो भने खुम बहादुर थापा ले स्वागत मन्तव्य राख्दै सहभागी सम्पूर्णलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा क्षेत्रीय सदस्य उदय सिंह चन्द, महिला नेतृ दीपा चन्द, राजु पौडेल, माधव भट्टराई, नरबहादुर विक, नारायण पोखरेल तथा मान सिंह मल्ल लगायतका वक्ताहरूले प्रशिक्षणमूलक तथा विचारोत्तेजक धारणा राख्नुभएको थियो। वक्ताहरूले नेपालको वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै लोकतान्त्रिक मूल्य, जनअधिकार, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा संगठित संघर्षको आवश्यकता औंल्याउनुभयो।
वक्ताहरूले प्रवासी नेपाली समुदायले केवल श्रम बेच्ने भूमिकामा सीमित नरही राजनीतिक, सामाजिक र वैचारिक रूपान्तरणमा समेत सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे। उनीहरूले मुल प्रवाहलाई प्रवासी नेपालीहरूको साझा र भरोसायोग्य संगठनका रूपमा थप सशक्त बनाउनुपर्नेमा जोड दिए।
प्रशिक्षण कार्यक्रममा सहभागीहरूले देशको समसामयिक अवस्था, संगठन निर्माण, राजनीतिक चेतना अभिवृद्धि र आगामी कार्यदिशाबारे गम्भीर छलफल गरेका थिए। कार्यक्रमले संगठनात्मक एकता, वैचारिक स्पष्टता र आन्दोलनप्रति प्रतिबद्धता थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रम सौहार्दपूर्ण, उत्साहजनक र उपलब्धिमूलक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। प्रशिक्षणले प्रवासी नेपाली समुदायबीच राजनीतिक जागरण, संगठनात्मक सुदृढीकरण तथा राष्ट्रिय मुद्दाप्रति जिम्मेवार भूमिका निर्वाह गर्न प्रेरणा दिएको विश्वास व्यक्त गरिएको छ।











