‘साम्राज्यवाद विरुद्धको लडाइँ अझै जारी छ, मोहनविक्रम सिंह
शंकर प्रसाद पोख्रेल
बुटवल, वैशाख : ७८औं कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती राजमो कार्यलय बुटवलमा सम्पन्न भएको छ।, बुद्धिजीवी, पत्रकार तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाली कम्युनिष्ट आन्दोलनले लामो संघर्षपूर्ण यात्रा तय गरेको भए पनि राष्ट्रियता र स्वाधीनतामाथि बाह्य हस्तक्षेपको खतरा अझै समाप्त नभएको बताउनुभयो। उहाँले विगतमा भारतीय विस्तारवादविरुद्ध संघर्ष गर्दै आएको उल्लेख गर्दै अहिले अमेरिकी साम्राज्यवादको चुनौती समेत थपिएको धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “७८ वर्षको इतिहास केवल उत्सव होइन, यो संघर्षको निरन्तरता हो। राष्ट्रिय स्वाधीनताको रक्षा बिना कुनै पनि राजनीतिक उपलब्धि दीर्घकालीन हुन सक्दैन।” सिंहले कालापानी लगायत सीमावर्ती क्षेत्रको विषय उठाउँदै राष्ट्रियताको सवालमा जनताको सचेत र सक्रिय भूमिका अपरिहार्य रहेकोमा जोड दिनुभयो।
समाजवादको यात्रा सहज नभएको उल्लेख गर्दै उहाँले विश्वका केही देशहरू समाजवादबाट पुनः पूँजीवादमा फर्किएको उदाहरण प्रस्तुत गर्नुभयो। “हामीले प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्छ, अन्यथा उपलब्धि गुम्ने खतरा सधैं रहन्छ,” उहाँले थप्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान राजनीतिक अवस्थालाई ‘तरल र भ्रमपूर्ण’ भन्दै जनतालाई सचेत रहन आग्रह गर्नुभयो। उहाँका अनुसार नयाँ शक्ति भन्ने नाममा आएका केही प्रवृत्तिहरू र पुराना दलहरूको कमजोरीका कारण जनताको विश्वास कमजोर बन्न पुगेको छ।
केसीले भन्नुभयो, “जनताको चेतनालाई भ्रमित पार्ने काम भइरहेको छ। यस्तो अवस्थामा सही राजनीतिक विचार र राष्ट्रहितको पक्षमा उभिनु आजको आवश्यकता हो।” उहाँले लोकतान्त्रिक व्यवस्थामा देखिएका विकृति अन्त्य गर्न जनताको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा अन्य वक्ताहरूले नेपाली जनताले ऐतिहासिक रूपमा लामो राजतन्त्र र ३० वर्षे पञ्चायती व्यवस्था अन्त्य गरेको स्मरण गर्दै वर्तमान व्यवस्थामा देखिएका कमजोरी र विकृतिविरुद्ध पनि संगठित संघर्ष आवश्यक रहेको बताए।
वक्ताहरूले व्लादिमिर लेनिनको योगदानको चर्चा गर्दै उहाँका सिद्धान्तहरू अझै पनि सान्दर्भिक रहेको उल्लेख गरे। उनीहरूले सामाजिक न्याय, समानता र राष्ट्रिय स्वाधीनताको लक्ष्य हासिल गर्न लेनिनवादी विचारधारालाई आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए।
कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बद्रे आलमले गर्नुभएको थियो भने स्वागत मन्तव्य दुर्गा खरेलले राख्नुभएको थियो।

कार्यक्रममा राजमो कार्यकारी अध्यक्ष रश्मिराज नेपाली उपाध्यक्ष , दुर्गा पौडेल, ब्यापारका ढुण्डीराज सर्मा प्रशिक्षक दुर्गानाथ खरेल , राजमो सल्लाहकार वासुदेव पोखरेल, पत्रकार श्यामलाल पोखरेल, लोकराज भुसाल, लिला बहादुर केसी , केसहरु इन्द्र ज्ञवाली तथा लाल बहादुर थापालगायतका नेताहरूको उपस्थिति रहेको थियो।
बुटवलमा सम्पन्न यो कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान चुनौती र भावी रणनीतिबारे छलफल चलाउन सुझाब र सहभागीहरूले राष्ट्रियता, स्वाधीनता र समाजवादी लक्ष्यप्रति प्रतिबद्ध रहँदै वर्तमान चुनौतीहरूको सामना गर्न एकता आवश्यक रहेको बताइएको थियो।












