पाल्पामा संयुक्त रूपमा ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवस मनाइयो

पाल्पा, तानसेन — पाल्पामा विभिन्न वामपन्थी दलहरूले संयुक्त रूपमा ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवस मनाएका छन्। नेपाली कम्युनिस्ट पार्टी पाल्पा, राष्ट्रिय जनमोर्चा पाल्पा र नेकपा माओवादी पाल्पाको संयुक्त आयोजनामा सदरमुकाम तानसेनमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरू यादव बहादुर रायमाझी र पार्बती बिक, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोम कुमार कार्की तथा नेकपा माओवादी लुम्बिनी प्रदेश सदस्य आकाश थापाले मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले कम्युनिस्ट आन्दोलनको इतिहास, वर्तमान अवस्था र एकताको आवश्यकता बारे जोड दिएका थिए।
उनीहरूले विखण्डनभन्दा एकता आवश्यक रहेको औँल्याउँदै साझा लक्ष्य प्राप्तिका लागि सहकार्य अपरिहार्य रहेको धारणा राखे। कार्यक्रममा संविधानसभा सदस्य लिला सोमै, नरमति सिंजाली, दल ब राना, पुरन गैरे र गोमा मगरलगायतले पनि फ्लोरबाट आफ्ना धारणा राखेका थिए।

राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने उद्देश्यसहित संयुक्त रूपमा स्थापना दिवस मनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार पाल्पाबाट एकताको सन्देश दिनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
कार्यक्रमका अध्यक्षता नेपाली कम्युनिस्ट पार्टीका संयोजक अशोक कुमार शाहीले गर्नुभएको थियो। सञ्चालन राष्ट्रिय जनमोर्चाका तर्फबाट गरिएको थियो भने स्वागत मन्तव्य नेकपा माओवादी पाल्पाका सदस्य पुर गैरे शर्माले राख्नुभएको थियो।
कार्यक्रममा सहभागी तीन दलका नेताहरूले कम्युनिस्ट आन्दोलनलाई सुदृढ र एकताबद्ध बनाउन आगामी दिनमा पनि छलफल र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation