शंकर प्रसाद पोख्रेल
बुटवल, बैशाख ११
बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा प्रतिनिधि सभा सदस्यद्वारा निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय मन्जु भुसालले विद्यालय व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकोप्रति चासो व्यक्त गरिन्। उनले विद्यालय स्रोतबाट नै ठूलो आर्थिक भार वहन गर्नुपर्ने अवस्थाले समस्या सिर्जना गरेको बताउँदै खेलकुद, पठनपाठन, संस्कार, संस्कृति, नैतिकता र अनुशासनसहितको समग्र विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन्। साथै विद्यालयमा शिक्षक तथा कर्मचारीको संख्या बढी भएको भन्दै यसको व्यवस्थापन राज्यले जिम्मा लिनुपर्ने धारणा राखिन्।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल उपमहानगरपालिका सभापति राजन पाण्डेयले विद्यार्थी संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने बताए। उनले विद्यार्थीको सफ्ट स्किल विकास, बालमैत्री तथा विज्ञानमा आधारित शिक्षण प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिँदै कंक्रिट संरचनाभन्दा शैक्षिक गुणस्तर सुधारमा लगानी गर्न आवश्यक रहेको उल्लेख गरे।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका सबल तथा कमजोर पक्ष, अवसर र चुनौतीबारे जानकारी गराउँदै विद्यालय सुधारका चार खम्बा भौतिक, व्यवस्थापकीय, आर्थिक र शैक्षिक पक्षमा केन्द्रित भएर काम भइरहेको बताए।
प्रधानाध्यापक बस्नेतको अध्यक्षता तथा कक्षा १२ का इन्चार्ज केशवराज पन्थको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं अभिभावक कृष्ण प्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल–११ का सभापति सुनील शाह, सहायक प्रधानाध्यापक, विभिन्न तह तथा समूहगत इन्चार्ज, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।












