थापाथलीका टहरा हटाइए, सुरक्षाकर्मी गैरीगाउँतर्फ परिचालन

काठमाडौँ, वैशाख १२ : सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियान अन्तर्गत थापाथली क्षेत्रका सुकुम्वासी टहरा भत्काएको छ। उक्त कार्य सम्पन्न गरेपछि सुरक्षाकर्मीहरूको टोली अहिले गैरीगाउँ क्षेत्रमा परिचालित भएको छ।
काठमाडौँ महानगरीय प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार थापाथलीमा रहेका अव्यवस्थित संरचना हटाइसकिएको र गैरीगाउँमा पनि सोही अभियान जारी रहेको छ। हटाइएका बासिन्दामध्ये केहीले अस्थायी आवासमा बस्न इच्छा देखाएका छन् भने केहीलाई सुन्दरीघाटस्थित राधास्वामी सत्सङ्ग भवनमा सारिएको छ।
सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा रहेका अनधिकृत बस्ती हटाउने कार्य तीव्र बनाएको जनाएको छ। यस अभियानका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी तथा कर्मचारी परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रभावित परिवारलाई आवश्यक सहयोग गर्दै उनीहरूको विवरण सङ्कलन तथा अस्थायी बसोबासको व्यवस्था गरिरहेको जानकारी दिनुभयो। सरकारले मानवीय आधारमा विभिन्न स्थानमा अस्थायी पुनर्स्थापनाको व्यवस्था गर्ने जनाएको छ।
सरकारको दाबी अनुसार अब वास्तविक र नक्कली सुकुम्वासी पहिचान गरिनेछ र आवश्यक प्रक्रिया अघि बढाइनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation