राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन चैतमा, संगठन विस्तारमा जोड

बुटवल : राष्ट्रिय जनमोर्चाले आगामी चैत २४, २५ र २६ गते पाँचौँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। रुपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले यसअघि मंसिरमा तय गरिएको सम्मेलनलाई सारेर नयाँ मिति घोषणा गरेको हो। पार्टी अध्यक्ष चित्रबहादुर केसीले बैठकका निर्णय सार्वजनिक गर्दै सम्मेलनको तयारीलाई तीव्र बनाइने जानकारी दिएका छन्।
बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गरिएको छ। अपेक्षित परिणाम प्राप्त नभए पनि राष्ट्रघात र वैदेशिक हस्तक्षेपविरुद्ध जनतालाई सचेत गराउन पार्टी सफल भएको निष्कर्ष निकालिएको अध्यक्ष केसीले बताए।
संविधान संशोधनबारे आफ्नो धारणा सार्वजनिक गर्दै जनमोर्चाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणालीलाई अधिनायकवादतर्फको यात्रा हुने चेतावनी दिएको छ। संसदीय प्रणालीलाई कमजोर बनाउँदै बाह्य शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप लगाउँदै हालको मिश्रित निर्वाचन प्रणालीलाई नै उपयुक्त ठहर गरिएको छ।
यसैगरी बैठकले सरकारले नेपाललाई ‘बफर स्टेट’का रूपमा प्रस्तुत गर्नु गलत भएको उल्लेख गर्दै विद्यार्थी संगठनमाथि नियन्त्रण, ट्रेड युनियन अधिकार कटौती तथा सुकुमबासी बस्तीमा डोजर प्रयोगजस्ता कार्यले सरकारको अधिनायकवादी प्रवृत्ति झल्काएको निष्कर्ष निकालेको छ।
संगठनात्मक रूपमा बैठकले मकवानपुरका सानोभाइ कार्कीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ भने सिन्धुपाल्चोककी गंगा पौडेल र पुरुषोत्तम कँडेललाई सल्लाहकारमा चयन गरिएको छ।
आगामी कार्यक्रमअन्तर्गत वैशाख २६ गते काठमाडौँमा संविधान संशोधनसम्बन्धी बृहत् अन्तरक्रिया आयोजना गरिनेछ। साथै, वैशाख २९ देखि जेठ १७ गतेसम्म देशका विभिन्न सहरमा शीर्ष नेताहरूको सहभागितामा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तालिका सार्वजनिक गरिएको छ। वैशाख १५ देखि जेठ मसान्तसम्म सबै तहका समितिहरूको बैठक बस्ने र सदस्यता वितरण अभियानलाई तीव्र बनाइने पार्टीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation