दाङ । राष्ट्रिय जनमोर्चा दाङले भूमिहीन सुकुम्बासीहरूको समस्या बुझ्ने तथा उनीहरूको भावना सुन्ने उद्देश्यले घोराहीका विभिन्न बस्तीमा पुगेर भेटघाट गरेको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्य को नेतृत्वमा पुगेको टोलीले दशकौँदेखि जोतभोग र बसोबास गर्दै आएका नागरिकसँग छलफल गरेको थियो । भेटघाटका क्रममा स्थानीयहरूले आफूहरूले लामो समयदेखि उपयोग गर्दै आएको जमिनको स्वामित्व आफैंले पाउनुपर्ने माग राखेका थिए ।
उक्त अवसरमा जिल्ला अध्यक्ष आचार्यले स्थानीय सरकार तथा जिल्ला प्रशासनमार्फत केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाएर भूमिहीन सुकुम्बासीहरूको माग अघि सारिएको जानकारी दिएका छन् ।
स्थानीय पीडित नागरिकहरूले आफूहरूको घरबास नै खोसिने अवस्था आए कडा प्रतिरोधमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका थिए । उनीहरूले “हाम्रो बसोबास खोसिन्छ भने कि हामी मर्छौं, कि संघर्षमै ज्यान जान्छ” भन्ने पीडा व्यक्त गरेका थिए ।
राजमो दाङले भूमिहीन तथा सुकुम्बासी नागरिकको उचित व्यवस्थापन र स्थायी समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने माग गरेको छ ।











