यही कार्यकालमै सुकुमवासी र सहकारी समस्या समाधान गर्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता
काठमाडौं, असार ७ । प्रधानमन्त्री बालेन शाहले वर्तमान कार्यकालभित्रै सुकुमवासी तथा सहकारी क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चितवनको भरतपुरमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकार जनताका दीर्घकालीन समस्याको समाधानमा केन्द्रित रहेको बताए।
उनले सुकुमवासी र सहकारी समस्यालाई वर्षौंदेखि दोहोरिँदै आएको मुद्दाका रूपमा उल्लेख गर्दै यही कार्यकालमै समाधान गर्ने लक्ष्य लिइएको स्पष्ट पारे। आगामी निर्वाचनमा पुरानै समस्या दोहोर्याएर मत माग्न नपर्ने गरी काम सम्पन्न गर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा नयाँ एजेन्डासहित जनतामाझ जाने वातावरण निर्माण गर्ने लक्ष्य रहेको बताए।
भरतपुरमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता रहेको छ। महाधिवेशनले पार्टीको भावी नीति, संगठन विस्तार र राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।











