बुटवल, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि लुम्बिनी प्रदेशबाट करिब ५० जना आकांक्षी चुनावी मैदानमा उत्रिएका छन्। आकांक्षीमध्ये रुपन्देहीका नेताहरूको संख्या उल्लेख्य रहेको छ।
प्रतिनिधिसभा सदस्यदेखि पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका नेताहरूले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्दै महाधिवेशन केन्द्रित प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। महाधिवेशन स्थलमा रहेका पत्रकार तथा महाधिवेशन प्रतिनिधि गुनाराम घिमिरेका अनुसार रुपन्देहीका ज्ञानु पौडेल, गोपाल घिमिरे, डा. बुद्धि शर्मा, डा. योगेन्द्र अग्रहरी, अमृत भुसाल, कल्पना पाण्डे, सुलभ खरेल, महेन्द्र गुप्ता, पुनमकुमारी अग्रवाल र अमृता विकलगायत केन्द्रीय सदस्यका प्रमुख आकांक्षीका रूपमा देखिएका छन्।
त्यस्तै दाङका विपिन आचार्य केन्द्रीय पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् भने देवराज पाठक, कान्तिशिखा धिताल, सुशिला अधिकारी, कमल सुवेदी, सुरेश चौधरी र दीपेन्द्र लामा पनि केन्द्रीय सदस्यका लागि सक्रिय रूपमा चुनावी मैदानमा छन्।
कपिलवस्तुका नारायणप्रसाद खनाल र मिर्जा राशिद बेग, गुल्मीका गोविन्द पन्थी र भोजराज पाण्डे पनि केन्द्रीय सदस्यका आकांक्षीका रूपमा देखिएका छन्। गुल्मीका सागर ढकाल केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिने चर्चामा छन्।
बाँकेका निलराज अधिकारी, जमुना शर्मा र गोविन्द थारु, अर्घाखाँचीका जनक भुसाल, बर्दियाका महेश दहित, कविराम सुनार र दीपक खनाल तथा रोल्पाका रमेश थापालगायत नेताहरू पनि केन्द्रीय सदस्य पदका लागि तयारीमा जुटेका छन्। प्यूठानका सुशान्त वैद्य र माधव भण्डारी पनि चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेको बताइएको छ।
लुम्बिनी प्रदेशबाट रास्वपाका प्रभावशाली नेताहरू विपिन आचार्य र सागर ढकाललाई केन्द्रीय तहका बलिया दाबेदारका रूपमा हेरिएको छ। यसैबीच, प्रदेश सभापति चयन प्रक्रियामा सहमतिको पक्षमा उभिएका संगठन विभागका केन्द्रीय सदस्य गोपाल घिमिरे पनि केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा होमिएका छन्।
रास्वपाको केन्द्रीय नेतृत्व चयनका लागि लुम्बिनी प्रदेशबाट करिब एक दर्जन सांसदसहित झण्डै ५० जना नेताहरूले आकांक्षा देखाएपछि प्रतिस्पर्धा रोचक बन्ने अपेक्षा गरिएको छ।











