चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्दै देश र जनताको हितका लागि सहकार्य र एकताको राजनीतिलाई प्राथमिकता दिने बताएका छन्।
भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीले प्राप्त जनमतलाई जिम्मेवारीका रूपमा ग्रहण गरेको उल्लेख गर्दै कसैप्रति प्रतिशोधको भावना नराख्ने बताए। राजनीतिक दलहरूबीच विगतमा देखिएका वैमनस्यता अन्त्य गरी सहकार्यको नयाँ संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए।
पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै लामिछानेले महाधिवेशनबाट एकता र संगठन सुदृढीकरणको सन्देश जाने बताए। पुराना दलहरूको अनुभवबाट पाठ सिक्दै गुटरहित ढंगले अघि बढ्न सके रास्वपालाई कुनै बाह्य शक्तिले कमजोर बनाउन नसक्ने उनको भनाइ थियो।
उनले गुटबन्दीलाई राजनीतिक संगठनका लागि घातक भन्दै अहिले पार्टीले भविष्यको दिशा निर्धारण गर्ने महत्वपूर्ण मोड पार गरिरहेको बताए। रास्वपा देशको साझा राजनीतिक मञ्चका रूपमा स्थापित हुँदै गएको दाबी गर्दै गैरराजनीतिक क्षेत्रका व्यक्तिहरू पनि राजनीतिमा आकर्षित हुन थालेको उल्लेख गरे।
सभापति लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न नेतृत्वलाई सुझाव दिँदै ती समस्या समाधान हुन नसके त्यसको असर समग्र मुलुकमा पर्ने चेतावनी दिए। राष्ट्रिय राजनीति सुदृढ हुन सबै दलको सुधार आवश्यक रहेको उनको भनाइ थियो।
सरकार सञ्चालनबारे बोल्दै उनले पूर्वसहमति अनुसार प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार अघि बढिरहेको बताए। सरकारको लक्ष्य पूरा गर्न रास्वपा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई सफल बनाउन आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने स्पष्ट पारे।











