बरेङ गाउँपालिकाले ल्यायो ४२ करोड १९ लाखको बजेट

बागलुङ । बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड १९ लाख ६७ हजार ८२२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले ‘समृद्ध बरेङ, सुखी बरेङवासी’को दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राख्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ।
गाउँपालिकाले प्रशासकीय भवन निर्माण सम्पन्न गर्न १ करोड रुपैयाँ विनियोजन गरेको छ। चालु गाउँसभा कार्यकालभित्रै नयाँ प्रशासकीय भवनबाट सेवा सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

पूर्वाधार विकासतर्फ गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्ने रणनीतिक महत्त्वको घट्ट–मान्द्रेढुङ्गा सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ। त्यसैगरी मध्यपहाडी लोकमार्गदेखि कालीगण्डकी करिडोर जोड्ने पेरिवाङ–बरेङ–उर्लेनी सडक स्तरोन्नतिका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।
शिक्षा क्षेत्रका लागि १७ करोड ६२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। सामुदायिक विद्यालयको पूर्वाधार निर्माण, आवासीय विद्यालय सञ्चालन, प्राविधिक शिक्षा छात्रवृत्ति, स्थानीय पाठ्यपुस्तक तथा विपन्न, दलित, अपाङ्गता भएका र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
स्वास्थ्यतर्फ ५ करोड १३ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ। स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइको सुदृढीकरण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा विस्तार, सामुदायिक औषधि कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमा तथा विपन्न दीर्घरोगीका लागि स्वास्थ्य बिमा कार्यक्रममा बजेट व्यवस्था गरिएको छ।
आर्थिक विकासतर्फ २ करोड २ लाख रुपैयाँ छुट्याइएको छ। स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि १२ लाख रुपैयाँ विनियोजन गरिएको छ। ‘साना किसानसँग बरेङ’ कार्यक्रमका लागि ८० लाख, हाटबजार स्तरोन्नति तथा सञ्चालनका लागि २० लाख र मौरीपालन प्रवर्द्धनका लागि १२ लाख रुपैयाँ व्यवस्था गरिएको छ।
गाउँपालिकाले कृषि पर्यटन, च्याउ खेती, बङ्गुर पकेट स्थापना, बाख्राको नश्ल सुधार तथा स्थानीय उत्पादनको बजारीकरणलाई समेत प्राथमिकतामा राखेको छ। रोजगार सिर्जनाका लागि राष्ट्रिय रोजगार कार्यक्रमसँग साझेदारी गर्न ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ।
विपद् व्यवस्थापन कोषमा थप ५ लाख रुपैयाँ व्यवस्था गरिएको छ भने वन संरक्षण, सूचना प्रविधि, सुशासन, सार्वजनिक सुनुवाइ, कर्मचारी क्षमता विकास तथा स्थानीय सञ्चारमाध्यमसँग सहकार्यका लागि पनि बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation