बुटवलमा ‘रक्तिम साँझ–२०८३’ : जनगायक जीवन शर्मासहितका कलाकारको प्रस्तुतिले दर्शक मन्त्रमुग्ध
बुटवल, असार १३ राष्ट्रिय जनमोर्चाको सांस्कृतिक मोर्चा रक्तिम सांस्कृतिक अभियानद्वारा आयोजित ‘विशेष रक्तिम साँझ–२०८३’ शनिबार बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ। बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सुरु हुनुअघि नै हल भरिएको थियो भने करिब साढे तीन घण्टासम्म दर्शकहरू गीत, संगीत, नृत्य र सांस्कृतिक प्रस्तुतिमा रमाएका थिए।

देशव्यापी सांस्कृतिक यात्राअन्तर्गत बुटवलमा आयोजना गरिएको यो कार्यक्रम रक्तिम सांस्कृतिक अभियानको निरन्तर अभियानको एक महत्वपूर्ण कडीका रूपमा रहेको आयोजकले जनाएको छ। गत जेठ १६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरबाट सुरु भएको ‘रक्तिम साँझ–२०८३’ हालसम्म चितवन, बागलुङ, पोखरा, गुल्मी, अर्घाखाँची, रोल्पा र प्युठानमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। बुटवलपछि दाङको घोराहीमा पनि कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्मासहित नयाँ र पुराना गरी तीन दर्जनभन्दा बढी कलाकारको सहभागिता रहेको थियो। अभियानका महासचिव हेमराज आश्रमका अनुसार रक्तिमले विगत तीन दशकदेखि जनपक्षीय संस्कृति, सामाजिक न्याय, राष्ट्रियता, श्रमिक वर्गको जीवन, समानता र परिवर्तनका पक्षमा गीत–संगीत तथा नृत्यमार्फत जनचेतना फैलाउँदै आएको छ। लामो अन्तरालपछि पुनः देशव्यापी सांस्कृतिक यात्रा सुरु गरिएकाले दर्शकबाट उत्साहजनक साथ प्राप्त भएको उनले बताए। कार्यक्रममा रक्तिम कलाकारहरु थुमराज ढुङ्गाना सबिन अग्रेजा,सचित्र केसि ,मिना बुढाथोकी जीवन साही ,जीवन पुन ,छितिजा राहादी लगायतले गित र नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको संयोजक ढुन्डिराज सर्मा रहनुभएको थियो।

कार्यक्रमको पहिलो चरणमा ‘हामी एक हौं’, ‘कम्युन संस्कृति’, ‘आएन प्रदेशी’, ‘फेरि पनि हुकुमी शासन चल्दै छ’, ‘किन चाहियो संघीयता?’, ‘बढ्दै जाऊँ’ लगायतका गीत प्रस्तुत गरिए। त्यस्तै कौरा नृत्य, प्यारोडी गायन तथा समसामयिक विषयवस्तु समेटिएका सांस्कृतिक प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेका थिए। गीत र नृत्यमार्फत सामाजिक विभेद, राजनीतिक अवस्था, श्रमिकको जीवन र राष्ट्रिय मुद्दालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको थियो।
दोस्रो चरणमा ‘चट्टानको झिल्को’, ‘ज्वालामुखी’, ‘आँधीको बेग बनी’, ‘अक्टोबर क्रान्ति’ र ‘रुख भन्छ पात भन्छ’ जस्ता कालजयी गीत तथा नृत्य प्रस्तुत गरिए। कार्यक्रममा जनगायक जीवन शर्माले आफ्ना चर्चित सिर्जना ‘सिमली छायाँ’, ‘मुस्कुराउँदै जाऊ’ र ‘शिर झुक्दैन’ प्रस्तुत गर्दा दर्शकले लामो समयसम्म ताली बजाएर साथ दिएका थिए। जीवन शर्माको प्रस्तुति कार्यक्रमको विशेष आकर्षण बनेको थियो।
कार्यक्रमभरि सबैभन्दा बढी चर्चा बटुलेको प्रस्तुति भने ‘आएन प्रदेशी फेरि पनि लाग्यो बर्खा’ रहेको थियो। वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिएका युवाहरू, गाउँघरमा उनीहरूको प्रतीक्षामा रहेका श्रीमती, आमाबुबा र परिवारजनको पीडा तथा वर्षायामसँग जोडिएको भावनात्मक अवस्थालाई गीत र नृत्यमार्फत प्रभावशाली ढंगले प्रस्तुत गरिएको थियो। कलाकारहरूको जीवन्त अभिनय र भावपूर्ण नृत्यले धेरै दर्शक भावुक बनेका थिए।

कार्यक्रममा सहभागी दर्शकहरूले गीत र नृत्यसँगै कलाकारलाई निरन्तर ताली बजाएर उत्साह दिएका थिए। अत्यधिक गर्मीका बाबजुद पनि दर्शकहरूले अन्तिमसम्म कार्यक्रम हेरेका थिए। यसले रक्तिम सांस्कृतिक अभियानप्रति दर्शकको विश्वास र आकर्षण अझै कायम रहेको सन्देश दिएको आयोजकको भनाइ छ।
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरी बुढाले कार्यक्रमका लागि तयार गरिएको ‘युग बोल्छ’ नाटक समय अभावका कारण मञ्चन गर्न नसकिएको जानकारी दिए। उनले आगामी कार्यक्रमहरूमा उक्त नाटकसहित थप नयाँ सांस्कृतिक प्रस्तुति समावेश गरिने बताए।

२०३० को दशकदेखि प्रगतिशील गीत–संगीत र सांस्कृतिक आन्दोलनमार्फत समाजमा चेतना फैलाउँदै आएको रक्तिम सांस्कृतिक अभियानले पछिल्लो समय आफ्नो गतिविधिलाई पुनः सक्रिय बनाएको छ। बदलिँदो सामाजिक र राजनीतिक परिवेशमा संस्कृति र कलामार्फत जनतासम्म विचार, चेतना र सामाजिक सन्देश पुर्याउने अभियानलाई निरन्तरता दिइरहेको रक्तिमले जनाएको छ।
बुटवलमा सम्पन्न ‘रक्तिम साँझ–२०८३’ ले कला र संस्कृतिप्रेमी दर्शकको उल्लेखनीय साथ पाउँदै अभियानको आगामी यात्रालाई थप उत्साह र ऊर्जा प्रदान गरेको आयोजकको निष्कर्ष रहेको छ।











