प्युठान शोकमा : उपप्रमुख मिनराज रानाको दुर्घटनामा निधन

जनताको सेवामा खटिएका स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा निधन

काठमाडौँ, असार १३  प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना मगरको शनिबार सवारी दुर्घटनामा परी निधन भएको छ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी स्वर्गद्वारी नगरपालिका–२ को बाङ्गेसल्ला नजिकै खाला भन्ने स्थानमा अनियन्त्रित भई करिब ५०० मिटर तल भीरमा खसेको थियो। दुर्घटनाका बेला उपप्रमुख रानाले आफैं गाडी चलाइरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
स्थानीयका अनुसार गाडी भीर तल रूखमा अड्किएको अवस्थामा भेटिएको थियो। दुर्घटनापछि प्रहरी र स्थानीय बासिन्दा तत्काल घटनास्थलमा पुगेका थिए। गाडीले च्यापिएको अवस्थामा रहेका रानालाई बाहिर निकाल्न उद्धार टोलीले गाडी काट्नुपर्ने अवस्था परेको थियो।
उपप्रमुख राना बाङ्गेसल्लामा आयोजित एक कार्यक्रममा सहभागी भएर नगरपालिकातर्फ फर्किने क्रममा दुर्घटनामा परेका हुन्। उहाँको निधनले स्वर्गद्वारी नगरपालिका, प्युठान तथा समग्र स्थानीय तहमा शोक छाएको छ।
दिवंगत रानाका श्रीमती र तीन छोरा रहेका छन्। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation