मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज विभिन्न प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बुटवल  । देशका विभिन्न क्षेत्रमा मनसुनी, पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सबै क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागमा पनि मनसुनी वायु सक्रिय रहेको जनाइएको छ। देशका अन्य भागमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्यतया बदली रहने अनुमान छ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराई क्षेत्र, मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावाको लहर चल्न सक्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने भएकाले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation