रूपन्देहीका १५ स्थानीय तहले सार्वजनिक गरे बजेट, कोटहीमाईमा विवादले रोकियो

भैरहवा, असार ११ । रूपन्देहीका १६ स्थानीय तहमध्ये १५ वटाले आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका छन्। अध्यक्ष र उपाध्यक्षबीच बजेट विनियोजनसम्बन्धी विवादका कारण कोटहीमाई गाउँपालिकाले भने बजेट ल्याउन सकेन।
बुटवल उपमहानगरपालिकाले ३ अर्ब ९९ करोड रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ। उपमहानगरले आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड ३८ लाख रुपैयाँ जुटाउने लक्ष्यसहित बजेट प्रस्तुत गरेको हो।
तिलोत्तमा नगरपालिकाले ३ अर्ब ५ करोड ६७ लाख रुपैयाँको बजेट ल्याएको छ। बजेटमा चालुतर्फ ९२ करोड ३ लाख, पुँजीगततर्फ १ अर्ब ६७ करोड ८४ लाख र सामाजिक सुरक्षातर्फ ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले १ अर्ब ७५ करोड ७८ लाख, देवदह नगरपालिकाले १ अर्ब ६९ करोड ९९ लाख, सैनामैना नगरपालिकाले १ अर्ब ५५ करोड ६७ लाख तथा ओमसतिया गाउँपालिकाले ५१ करोड १० लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
स्थानीय तहहरूले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी प्रवर्द्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखेका छन्।
कोटहीमाई गाउँपालिकामा अध्यक्ष बालकृष्ण त्रिपाठी र उपाध्यक्ष सुशीला कुमारी यादवबीच बजेट सिलिङका विषयमा सहमति नजुट्दा बजेट सार्वजनिक हुन सकेन। गाउँपालिकाले शुक्रबारसम्म बजेट ल्याउने प्रयास भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation