नेकपा (माओवादी) मा आन्तरिक असन्तुष्टि, केही नेता–कार्यकर्ताले पार्टी छाडेको घोषणा गरे

काठमाडौं, असार १४   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाभित्र पछिल्ला दिनमा आन्तरिक असन्तुष्टि बढ्दै गएको देखिएको छ। पार्टीका केही केन्द्रीय तहका नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेसँगै संगठनभित्रको अवस्था चर्चाको विषय बनेको हो।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार, यसअघि केही पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यहरूले महासचिव विप्लवको नेतृत्वमा पार्टीको वैचारिक दिशा र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेका थिए। त्यसको निरन्तरतास्वरूप शुक्रबार थप ३२ जना नेता तथा कार्यकर्ताले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी र सबै जिम्मेवारीबाट अलग भएको बताएका छन्।

उनीहरूले जारी गरेको विज्ञप्तिमा पार्टीभित्र लोकतान्त्रिक बहसको वातावरण कमजोर बनेको, फरक मत राख्नेहरूमाथि कारबाही हुने प्रवृत्ति बढेको तथा सामूहिक नेतृत्वको अभ्यास कमजोर भएको आरोप लगाइएको छ। साथै, कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकताका लागि नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरिएको छ।

यता, नेकपा (माओवादी) रुपन्देहीका संयोजक वीरेन्द्र सी ले भने सार्वजनिक रूपमा पार्टी छाडेको  केही भनिएका व्यक्ति लामो समयदेखि सक्रिय भूमिकामा नरही मौन वा तटस्थ (न्युट्रल) अवस्थामा रहेको  बताउदै आएकाछन ।

पार्टी नेतृत्वले भने हालसम्म सामूहिक बहिर्गमनबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। पछिल्ला घटनाक्रमले विप्लव नेतृत्वको नेकपाभित्र देखिएको असन्तुष्टिबारे राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन्। यद्यपि, बहिर्गमनको वास्तविक प्रभाव र संगठनात्मक अवस्थाबारे पार्टी नेतृत्वको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation